प्रधानमन्त्रीलाई रविको आग्रह : तातो गोली थाप्न तयार भएका जनतालाई चिसोबाट बचाउनुस्
काठमाडौं,8 नोभेम्बर 2023
भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम)बाट फर्किएलगत्तै बालुवाटार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे प्रधानमन्त्रीलाई १४ बुँदे सुझाव दिएका हुन्।
लामिछानेले राहत व्यवस्थापन, वितरण, पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमै पुगेर लिएको पहलकदमी र सुझावका लागि सभापति लामिछानेलाई धन्यवाद दिएको रास्वपाले जनाएको छ ।
प्राथमिकताका आधारमा सुझावहरु कार्यान्वयनका लागि मन्त्रिपरिषद्को बैठकमा राख्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको रास्वपाले जानकारी गराएको छ ।
‘परिवर्तनका लागि विगतमा तातो गोली थाप्न तयार भएका जनतालाई चिसोबाट बचाउनुस्’ भनेर रास्वपा सभापति लामिछानेले आग्रह गर्दा प्रचण्ड गम्भीर भएको रास्वपाले जनाएको छ ।
राहत सामग्री जिल्ला प्रशासनमा थुप्रिएको तर पीडितले नपाएको विषयलाई लामिछानेलाई प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।
राहत वितरणमा एकरुपता नदेखिएको, राज्यप्रति पीडितको भरोसा नभएको, त्रिपाल गुणस्तरहीन भएको, बालबालिकाको अवस्थाप्रति राज्य गम्भिर नदेखिएको लगायतका विषयलाई रास्वपा सभापति लामिछानेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।









































