फागुन १ गते बिदा दिने प्रस्ताव संसदबाट पारित गर्न सरकारलाई एमालेको चुनौती
काठमाडौं ,2 नोभेम्बर 2023
माओवादी सशस्त्र युद्ध सुरु भएको दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले फिर्ता लिनुपर्ने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले फागुन १ गते बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने भन्दै चुनौती दिए । जनयुद्ध दिवस मनाउने निर्णय गरेर गठबन्धन बनेको र कांग्रेस पनि त्यसैमा सहभागी भएको टिप्पणी गरे ।
‘यदि यो सरकारलाई फागुन १ गते युद्ध दिवश मनाउनु ठीक हो भन्ने लाग्छ भने यो सदनमा प्रस्तुत गरेर पारित गरोस्’ उनले प्रश्न गरे, ‘त्यसको परीक्षण गर्न सरकार तयार छ ? सरकार यो गलत निर्णयबाट पछाडि हटोस् । यदि पछाडि हट्न चाहदैन भने सदनमा ल्याओस् ।’
फागुन १ गते नेपालमा हिंसाको आरम्भ भएको भन्दै पौडेलले त्यस दिन उत्सवको दिन हुन नसक्ने जिकिर गरे । मुलुक समृद्धिको दिशामा अघि बढिरहेकाले युद्ध दिवश मनाउनु उचित नहुने उनको भनाइ छ ।









































