बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिले भूमिका विषयमा सरकारले जवाफ नदिएसम्म सदन चल्दैन: एमाले
काठमाडौं, 6 जुन 2023
नेकपा एमालेका सचेतक महेश बर्तौलाले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिले भूमिका विषयमा सरकारले जवाफ नदिएसम्म सदन चल्न नदिने बताएका छन् । मंगलबार संघीय संसद् भवन बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सचेतक बर्तौलाले उक्त कुरा बताएका छन्। उनले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको प्रवेश अख्तियार दुरुपयोग र भ्रष्टाचार भएको भन्दै सरकारले जवाफ दिनुपर्ने बताए ।
उनले भने, ‘हिजो करका विषयसँग जोडिएको विषयहरु बाहिर आए त्यसमा हाम्रो चासो रहेको छ । सदन सञ्चालनपूर्व सरकार यस विषयमा जवाफ दिन तयार हुन्छ भने हाउस चलाउन तयार छौं,
यस विषयमा सरकारले देश, सदन र जनताप्रति जवाफदेही भएन भने बैठक सहजताका साथ जाँदैन । यस विषयमा मन्त्रीले जवाफ नदिउन्जेलसम्म बैठक चल्दैन ।’
प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजे बोलाइएको थियो।









































