बलेवा, १ फेब्रुअरी
बागलुङमा रहेको तमानखोला गाउँपालिका–१ बिसोकमा श्रीमतीले धकेलेर ठोकिँदा चोट लागेर श्रीमानको मृत्यु भएको छ ।
सामान्य घरायसी विवादमा उनीहरुबीच कुटाकुट नै भएको त्यहाँका स्थानीयवासीले बताएका छन् । श्रीमती भने गम्भीर घाइते भएकी छिन् ।
घरायासी विवादको क्रममा ६४ वर्षीय रविलाल विकले ६० वर्षीया श्रीमती जमुना विकलाई कुटेका थिए । कुटपीटको क्रममा श्रीमती जमुना विकले धकेल्दा टाउँकोमा चोट लागेर रविलाल घाइते भएको प्रहरीले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेका विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
श्रीमान् श्रीमतीबीच सधैँजसो सामान्य विषयमा पनि भनाभन हुने गरेको र रविलालले कुटपिट गरेपछि जमुनाले धकेल्दा घरको भित्तामा ठोक्किएर मृत्यु भएको भन्दै स्थानीयवासीले प्रहरीचौकी बोङगादोभानमा खबर गरेका थिए । मृत्यु भएका रविलालको शव परीक्षणको लागि बुर्तिवाङ स्वास्थ्यचौकीमा राखिएको छ ।









































