बाजुरा, २० मार्च, २०२०
बाजुराको अज्ञात रोगका कारण दुई शिशुको मृत्यु भएको छ । बाजुराको स्वामिकार्तिक गाउँपालिकाको वडा नम्बर २ पुडेनीका चतुरे थापाका ४ महिनाका छोरा र वडा नम्बर १ मुक्तिकोटका भर्बले बिकका ५ महिनाका छोराको मृत्यु भएको हो ।
चतुरे थापाको छोराको यही चैत ५ गते र भर्वल बिकका छोराको ४ गते मृत्यु भएको स्थानीयले बताएका छन्। मृत्यु हुनुपूर्व दुवै जनालाई अत्याधिक ज्वरो आएको र रुघाखोकी लागेको बताइएको छ। तर उनीहरुको मृत्युको कारण भने खुलेको छैन ।
त्यस्तै लक्षण देखिने रोगका कारण स्वामीकार्तिक– १ को मुक्तिकोट, वडा नम्बर २ को पुडेनी, सुपेना, फयालगाँउ, लौडीमा दर्जनौ बिरामी परेको वडा नम्बर १ का अध्यक्ष जनकबहादुर रोकायाले बताए। ती बिरामीहरुलाई ज्वरो आउने, टाँउको दुख्ने, खोकी लाग्ने हातखुट्टा दुख्ने लगायतका लक्षणहरु देखापरेको उनले बताए ।
रोगले गाउँनै थलिएपछि अहेब विर्ज विकलाई प्रभावित क्षेत्र पठाउन लागिएको वडा नम्बर १ का अध्यक्ष जनकबहादुर रोकायाले बताए। त्यस्तै गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहिले मृत्यु भएको र बिरामी भएको खबर आएकाले स्वास्थ्यकर्मी पठाउने तयारी भइरहेको बताएका छन् ।
यता स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले रोगबारे जानकारी भएको बताएका छन्। उनले कोरोना भाइरससँग मिल्ने लक्षण भएको तर आफुसँग कुनै परिक्षण किट नभएको बताए। पन्तले कोरोना भाइरसबारे सचेतना गराउन कुनै सामग्री समेत नभएको बताएका छन् ।









































