चितवन, २१ फरवरी २०२०
चितवनको भरतपुरमा विद्युतीय सवारी साधन चार्जिङ स्टेशन निर्माणका लागि भरतपुर महानगरपालिकाले जग्गा दिने निर्णय गरेको छ ।
महानगरपालिको बोर्ड बैठकले केन्द्र सरकारले बनाउने चार्जिङ स्टेसनका लागि केन्द्रीय बस टर्मिनल भरतपुरभित्र नै स्थान उपलब्ध गराउने निर्णय गरेको हो । महानगरले ठाँउ मात्रै उपलब्ध गराउने छ भने, बजेट लगायतका बाँकी काम सबै केन्द्र सरकारले नै गर्नेछ ।
केन्द्र सरकारले महानगरपालिकालाई हाइवे आसपासमा जग्गा उपलब्ध गराउनका लागि अनुरोध गरेको थियो । पूर्व पश्चिम चल्ने लामा तथा छोटा दूरीका सवारी साधानहरु बसपार्कमा नै रोकिने भएकोले केन्द्रीय बसपार्कमा रहेको ठाउँ नै उपयुक्त देखिएकोले निर्णय गरिएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । चार्ज गर्ने पाँच वटा केन्द्र रहने गरी स्टेशन तयार गरिने छ ।









































