चेन्नई, 24 जुलाई 2020
दक्षिण भारतमा एक हप्ताको अवधिमा लकडाउनका कारण बेरोजगार भएका ३ जना नेपाली श्रमिकहरुले आत्महत्या गरेका छन् । लकडाउनका कारण जीवनापन गर्न असहज भएपछि चेन्नईका विभिन्न स्थानमा बस्ने नेपालीहरुले आत्महत्या गरेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य एंव दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्यालले बताउनुभयो ।
चेन्नईमा बस्दै आएका अन्नपूर्ण गाउँपालीका ७ सल्यान, कास्कीका स्थायी वासिन्दा ६२ बर्षका ललीत बहादुर क्षेत्री लकडाउनले वेरोजगार भएपछि २२ जुलाईका दिन चेन्नईको तालम्पुर भन्ने ठाउँमा रूखमा झुण्डीएर आत्महत्या गरेको बताइएको छ ।
उनको मृत्यको खबरपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पूर्व नगर समितिको पहलमा कानूनी तथा हस्पिटल सम्बन्धि सम्पूर्ण प्रकृया पुरा गरि २३ जुलाई २० का दिन आफन्तजन र संगठका कार्यकर्ताहरूको उपस्थितमा अन्तिम संकार गरिएको थियो ।
निजको आत्माको शान्तिका लागि मूल प्रवाह नगर समितिको पहलमा शोकसभाको आयोजना गरिएको थियो ।
अर्को घटना चेन्नईको तेनाम्पेटमा भएको थियो । त्यहाँ परिवारसहित बस्दै आएका 37 वार्षका कुस्मा नगरपालिका 3 दुर्लुङ पर्बतका भवानी प्रसाद पौडेलले १७ जुलाईका दिन बाथरूममा झुण्डीएर आत्महत्या गरेका थिए ।
त्यस्तै चेन्नई पेरम्बुरमा रहँदै आएका कुस्मा नगरपालिका ६ चुवा पर्बतका हिमाल दर्जीका छोरा २२ वर्षका अनिल दर्जीले पनि बेरोजगारीका कारण तनावमा आएर २१ जुलाईका दिन आफ्नै कोठामा झुण्डीएर आत्महत्या गरेका हुन । निज दुबै जनाको दाहसंस्कार प्रवासी नेपाली संघ भारत चेन्नई नगर समिति र आफन्तजनको उपस्थितिमा गरिएको बताइएको छ ।
वैश्विक महामारी कोरोना कारण सबैलाई समस्या उत्पन्न भएपनि एकदिन अवश्य कोरोना महामारी हराएर जाने भन्दै भारतमा रहेका विभिन्न संघ-संगठनहरुले सकारात्मक सोचका साथ तनावबाट बच्न र आत्महत्या जस्तो कायरतापूर्ण निर्णय नगर्न भारतमा रहने नेपालीहरुलाई आग्रह गरेका छन ।









































