नयाँ दिल्ली, 6 मार्च 2021
भारतका विभिन्न स्थानबाट उद्धार गरिएका 4 किशोरीहरुलाई नेपाल फिर्ता लगिएको छ । मानव तस्करीविरुद्ध काम गर्ने किन इण्डिया नामक संस्थाले जयपुर र उत्तर प्रदेशको नोएडा र कानपुरबाट उद्धार गरिएका 15 देखि 19 वर्ष उमेर समूहका 4 किशोरीहरुलाई आफन्तको जिम्मा लगाउने गरि नेपाल पुऱ्याएको छ । किन इण्डियाका प्रमुख नवीन जोशीका अनुसार विभिन्न समयमा उद्धार गरेर जयपुर, नोएडा र कानपुरका सुरक्षा गृहमा राखिएका 4 किशोरीहरुलाई चितवनस्थित आफन्त नेपालको सुरक्षित आवास गृहमा राखिएको बताउनु भयो ।
जानकारीका अनुसार उद्धार गरिएका 4 जना मध्ये 1 जना पोखरा र एक जना नेपालगंजकी किशोरीहरुलाई झण्डै 11 महिना पहिला लकडाउनका बेला जयपुर पुऱ्याइएको थियो । 17 वर्ष उमेर रहेका दुवैजना मध्ये पोखराकी किशोरीलाई एक जना चिनजानकी महिलाले मीठाईमा नशालु पदार्थ खुवाएर जयपुर पुऱ्याएकी थिइन भने त्यसपछि जयपुरमा उनको उद्धार गरि सुरक्षित आवासमा राखिएका थियो । त्यसैगरि अर्की नेपालगंजकी किशोरीलाई भने एक युवकले ललाईफकाई भारत पुऱ्याएका थिए । उनलाई –दिल्ली-जयपुर राजमार्गमा केही ट्रक ड्राइभरहरुले घेरेको बेला जयपुरका अधिकारकर्मीहरुले उद्धार गरि सुरक्षित आवासमा पुऱ्याएका थिए । त्यसैगरि अन्य 2 जना किशोरीलाई भने कयौं वर्ष पहिला हराएको अवस्थामा फेला परेका थिए । आफ्नो घरको यकीन ठेगाना र आफन्तहरुको बारेमा पनि राम्रोसँग बताउन नसकेका 2 किशोरीहरुको घर पत्ता लगाएर किन इण्डियाले उनिहरुलाई नेपाल पुऱ्याएको छ । त्यसमध्ये एक जना भने कैलालीको सुख्खडकी 15 वर्षीय प्रियंका चौधरी 11 वर्षको उमेरमा कानपुरमा फेला परेकी थिइन । घर थाहा नभएपछि 4 वर्षसम्म बालिका आश्रममा रहँदै आएकी उनको बारेमा नेशनल लाईभ मार्फत समाचार सम्प्रेषण गरेपछि आफन्तको बारेमा थाहा भएको थियो ।
त्यसैगरि गोरखपुरमा परिवारबाट बिछोडिएकी दाङकी 19 वर्षकी किशोरीले अहिले आएर घर परिवारको बारेमा बताउन सकेपछि उनको घरका आफन्त खोजेर 3 वर्षपछि नेपाल लगिएको हो ।
अहिले 4 जनालाई चितवनस्थित आफन्त नेपालको सुरक्षित आवास गृहमा राखेर जीवन उपयोगी तामिम दिइरहेको र उनिहरुको घर परिवारसित सम्पर्क भइरहेको जोशीले बताउनु भएको छ । उनिहरु नेपाल पुगेपछि आफन्तहरुमा खुशीयाली छाएको बताउँदै केही दिनमै किशोरीहरुलाई परिवारको जिम्मा लगाइने जोशीले बताउनु भएको छ ।









































