कञ्चनपुर, 18 मार्च 2020/ हिम शाह
भारतमा अध्ययन र कामका लागि गएका नेपाली धमाधम फर्किन थालेपछि कञ्चनपुरको गड्डाचौकीमा चाप बढेको छ। देहरादुनबाहेक पन्जाब, दिल्ली र हरियाणामा अध्ययन गरिरहेका विद्यार्थीसमेत घर फर्किन लागेको गड्डाचौकीमा स्थापना गरेको नागरिक सहायता कक्षका कर्मचारी दानसिंह बोहराले बताउनुभयो। कोरोना प्रभावले भारतमा विद्यालय र कलेज मात्रै नभई विकास निर्माणका कामसमेत रोकिएका छन्।
गड्डाचौकीमा स्थापना गरिएको हेल्थ डेस्कका अनुसार भारतमा रोजगारी गर्ने र अध्ययन गर्नेहरू दैनिक १२ सयको हाराहारीमा सो नाका भएर आउन थालेका छन्। उत्तराखण्डको देहरादुनमा अध्ययनरत सुर्खेतका सुरज रौनियारले परिवारको दबाबले फर्किएको बताए। उनी सुर्खेतकै सात विद्यार्थीसँग फर्किएका हुन्। देहरादुनमा प्रायःजसो जुन/जुलाईमा बिदा हुने भए पनि कोरोना प्रभावले यसपटक चाँडै बिदा भएको हो।
गड्डाचौकी नाका हुँदै फर्किएका गोरखाका अभिषेक मकरालीले भारतमा संक्रमितको संख्या बढेपछि सबै त्रसित बनेको बताए।
आइतबारदेखि नै देहरादुनमा अध्ययनरत विद्यार्थी घर फर्किन थालेका हुन्। सरकारले गड्डाचौकीसहित चार नाकाबाहेक अन्य नाकामा आवागमन बन्द गरेपछि घर फर्किनेले यही नाका प्रयोग गरिरहेका छन्।
गड्डाचौकी सीमामा राखिएको हेल्थ डेस्कमा नेपाल फर्किने सबैको जाँच भने हुन सकेको देखिँदैन। स्वास्थ्यकर्मी र सुरक्षाकर्मी आफैं व्यवस्थित हुन नसक्दा जाँचमा कडाइ हुन नसकेको हो। यद्यपि भारततर्फ जानेलाई भारतको एसएसबी र स्वास्थ्यकर्मीले कडा जाँच गरिरहेका छन्। भारतीय पक्षले मास्क बिना भारत पस्न रोक लगाइएको छ। तर नेपालतर्फको व्यवस्थापन भने फितलो छ।









































