काठमाडौं, 15 फरवरी 2023
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय विदेश सचिवका अगाडि नेपालका नेताहरू लम्पसार परेको टिप्पणी गरेका छन् । बुधवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा केसीले उक्त कुरा राखेका हुन्। उनले नेपालका नेता र मन्त्रीले भारतमा उच्च तहका नेतासँग भेटघाटै नपाउने भए पनि नेपालका नेताहरू भारतीय कर्मचारीसामु लम्पसार परेको आरोप लगाएका छन् ।
राष्ट्रपति निर्वाचन प्रभावित गर्न भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आएको उनले दाबी गरे।
‘हालै भारतका परराष्ट्रका कर्मचारीको नेपाल आगमन भयो, राष्ट्र प्रमुख, सरकार प्रमुख लगायत विभिन्न मान्छेको बीचमा भेटघाटको अभियान चलाउनुभयो । नेपालबाट मन्त्री र नेता जाँदा भेट्नै सक्दैनन् र निराश भएर फर्किनुपर्छ तर छिमेकका कर्मचारी आउँदा नेपालका राष्ट्र प्रमुख, सरकार प्रमुख र देशको स्वाभिमान बिर्सेर विदेशीको अगाडि लम्पसार परेका छन् ।’
अध्यक्ष केसीले नेपालको राष्ट्रियता र सार्वभौमिकता अप्ठ्यारोमा परेकोप्रति नेताहरू गैरजिम्मेवार बनेका बताए । ‘हामीलाई लाज लाग्दैन, लम्पसार परेर उनीहरूको आशिर्वादबाट दुनो सोझ्याउने काम गरेका छौं,’ केसीले भने ।









































