हिमाचल, 16 जुन 2020
नेपाल सरकारको अनुमति नपाएपछि सरकारी जागिर गुम्ने जोखिममा रहेका 27 जना नेपालीहरु अब भने भारत प्रवेश गर्न पाएका छन । भारतको हिमाचल प्रदेशको कुल्लु मनाली लगायतका क्षेत्रमा प्रदेश सरकारको लोक निर्माण विभाग अन्तर्गत सडक निर्माण काममा वेलदार पदमा काम गर्ने नेपालीहरु कोरोना प्रकोपपछि जारी गरिएको लकडाउनका कारण नेपालमा फसेका थिए । यद्धपी नेपाल सरकारले अहिले भारतमा रहेका नेपालीहरुलाई नेपाल प्रवेश गर्न दिइरहेको भएपनि भारत जान नदिएकाले उनिहरु फसेका थिए । फलस्वरुप उनिहरुको रोजगारी खोसिने जोखिम बढेको थियो । लकडाउन गरिएको महिनाभन्दा अघिदेखि उनिहरु नेपालमै रहेकाले उनिहरु सम्पर्कमा नआएको भन्दै उनिहरु काम गर्ने विभागले उनिहरुको खोजखबर गर्दै छिटो कार्यालयमा हाजीर नगरे नौकरीमा समस्या आउने भनेको थियो । त्यसपछि नेशनल लाईभले पनि उनिहरुको सम्बन्धमा समाचार सम्प्रेषण गरेको थियो । यद्धपी उनिहरुले पहिलेनै आफ्नो कर्मभूमि भारत फर्किने प्रयास गरेता पनि कोरोना महामारीका कारण गरिएको सीमा बन्दका कारण उनिहरुलाई भारत आउन दिइएको थिएन ।

त्यसपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपाल सरकारको गृह मन्त्रालयसम्म पहुँच बनाएर उनिहरुका लागि सीमा खोलिदिने निर्णय गरेपछि 27 जना नेपालीहरु भारत हिँडेका हुन । अधिकांश कर्णाली प्रदेश र सिन्धुपाल्चोकका रहेका उनिहरु नेपालगंजको रुपैडिहा नाका भएर हिमाचलका लागि प्रस्थान गरेका हुन । उनिहरु 3 दिन पहिला एक बसमा आइरहेको भएपनि विभिन्न राज्यमा स्वास्थ्य जाँच भइरहेकाले हिमाचल पुग्नमा समय लागिरहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, कुल्लु मनालीका अध्यक्ष साईला लामाले बताउनु भएको छ । हिमाचाल प्रदेशमा लामो समयदेखि रोड विभागमा काम गर्ने नेपालीहरुलाई स्थायी गर्नुपर्ने माग गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले कानूनी लडाई लडेपछि 2 हजारभन्दा धेरै नेपालीहरु एकै पटक स्थायी भएका थिए ।









































