काठमाडौं, 14 अगस्त 2020
वि.स. २०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुर्ननिर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ। जनप्रतिनिधि र स्थानीय नागरिकको प्रत्यक्ष सहभागितामा निर्माण भइरहेको काष्ठमण्डपको काम ७० प्रतिशत सम्पन्न भएको हो। कोरोना भाइरसका कारण केही समय काम स्थगित गरिएपनि गत वैशाख दोस्रो साताबाट सुरु भएको काम अहिलेसम्म ७० प्रतिशत सम्पन्न भएको काष्ठमाण्डप पुर्ननिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो। पहिलो तलाको सम्पूर्ण काम सकिएको र दोस्रो तलाको काम जारी रहेको उहाँले बताउनुभयो। काष्ठमाण्डप पुर्ननिर्माणमा प्राचिनकालमा प्रयोग गरिएको सामग्री र विधि प्रयोग भइरहेको छ। ऐतिहासिक सम्पदाहरुको पुर्ननिर्माण गर्दा आधुनिक मेसिनको प्रयोग नभइ स्थानीय जनशक्तिको परम्परागत सीप विधि माटो, इटा, काठ र ढुंगाबाट निर्माण भइरहेको उहाँले बताउनुभयो। काठमाडौं महानगरपालिका, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, पुरातत्व विभाग र काष्ठमण्डप पुर्ननिर्माण भइरहेको छ।
पुननिर्माणको खर्च महानगरपालिकाले व्यहोर्ने समझादारी अनुसार काम भइरहेको छ। अहिलेसम्म महानगरले तीन चरणमा गरी साढे १० करोड रुपैयाँ समितिलाई हस्तान्तरण गरिसकेको उहाँले बताउनुभयो। कोरोना संक्रमणको जोखिम देशव्यापी रहेपनि आवश्यक सावधानी अपनाएर पुर्ननिर्माणको काम जारी रहेको उहाँले बताउनुभयो। काष्ठमण्डप पुर्ननिर्माणका लागि अहिलेसम्म ७ हजार ९ सय २ क्यूफिट काठ महोत्तरी, मकवानपुर र कञ्चनपुर लगायतका क्षेत्रबाट ल्याइएको छ। अझै ३, ४ हजार क्यूफिट काठको आवश्यकता रहेको उहाँले बताउनुभयो। ६४ वर्षमिटर क्षेत्रफलमा निर्माण भइरहेको काष्ठमण्डपको उचाइ साढे २६ मिटर रहेको छ। भग्नावशेषबाट संकलन गरिएका केही काठहरु अहिले पनि प्रयोग गरिएको छ। मुख्य चार खम्बामध्ये एक खम्बा पुरानो नै प्रयोग गरिएको छ। पुरानो काठ रेक्टोग्राफि टेष्ट गरेर मात्रै प्रयोग गर्ने गरिएको काष्ठमण्डप पुर्ननिर्माण समितिले जनाएको छ ।









































