भ्रष्टाचारको नांगो रुप देखिन थाल्यो, पैसा नदिई कामै नहुनेभयो: नेपाल
काठमाडौं, 9 जुन 2023
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको कारण राजनीति विकृत भएका छन् । नेपालले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेजस्ता भ्रष्टाचारको नांगो रूप देखिन थालेको भन्दै यसविरूद्ध लाग्नुपर्ने बताए। शुक्रवार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पैसा नदिई (घूस नखुवाइ) कामै नहुने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरे।
‘भ्रष्टाचारी, शोषक, पुँजीवादी, दलाल हाबी हुने स्थिति बनेको छ। बिना पैसा काम नै हुँदैन। मिटरब्याजपीडितहरूको क्रन्दन छ, यी सबैविरूद्ध लाग्नुपर्ने अवस्था छ,’ उनले भने, ‘भ्रष्टाचारकाविरूद्ध पत्रकारहरूको कलम अझै सशक्त हुनुपर्ने भएको छ।’
अहिले प्रतिगामी शक्तिहरु सल्बलाएको भन्दै उनले वंशको शासनलाई फर्काउने दुष्प्रयास भइरहेको समेत बताए । संविधानको प्रावधानलाई परिपालना गर्दामात्रै प्रगतिवादी हुने बताए।









































