काठमाडौं, 14 मार्च 2023
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाएका छन् । काठमाडौँमा मंगलबार आयोजित राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्चको सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले कुनै दलको नाम नलिईकनै यस्तो बताए।
ओलीले भने, ‘मानव अधिकार आयोगलाई घेराबन्दी गर्छन् । तर्साउँछन्, धम्क्याउँछन् । हाम्रा खुकुरीमा खिया लागेको छैन भन्छन् । हाम्रा बन्दुकमा खिया लागेको छैन भन्छन् । हाम्रो बन्दुकको कार्तोस अझै पनि ओसिएको छैन भन्छन् । हाम्रा पाखुरा लाठी चलाउन नसक्ने भएका छैनन् भन्न सक्छन् । खुट्टा याद राख्नुस् भन्न सक्छन् । यो हुँदैन भन्न सकिदैन । त्यसकारण हाम्रो एलाईन्स आफैंमा मानवअधिकारप्रति समर्पित, इमान्दार हुनु पर्दछ । मानव अधिकारप्रति उभिन सक्ने, बोल्न सक्ने, त्यसका रक्षाका निम्ति लड्न सक्ने त्यो हुनुपर्दछ । एक्लै भयो भने फाँसी दिन सक्छन् ।’
उनले नेपालमा मानवअधिकारको इतिहास लामो भएको भन्दै नेपालमा धेरै मान्छे राष्ट्र वा जनताको हक अधिकारका लागि लड्दा मरेको पनि बताए ।









































