काठमाडौं, 22 अप्रैल 2022
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले बिभिन्न आन्दोलनपछिको उपलब्धी जोगाउनका लागि फेरि वामपन्थी एकता हुनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस तथा १ सय ५२ औं लेनिन जयन्तीका अवसरमा शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा आयोजित कार्यक्रममा प्रचण्डले गणतन्त्रलाई कमजोर पार्दै जनताको घरदैलोमा पुगेको अधिकार खोस्ने षडयन्त्र भइरहेको भन्दै माओवादी आन्दोलनका घटकहरु एक हुनुपर्ने बताउनुभएको हो । माओवादी आन्दोलनलाई र क्रान्तिकारी कम्युनिष्टलाई बिभाजन गरेर मात्रै आफ्नो प्रतिक्रियाबादी सत्ताको पुर्नप्राप्ती हुन सक्छ भन्नेहरु र फेरी निरंकुश लाद्न खोज्नेहरु अझै पनि सक्रिय रहेकाले सजक रहनुपर्ने उहाको भनाई छ । उहाले हिजो बिभाजित भएर गएका माओवादीमा पनि बिभाजनको औचित्य पुष्टि हुन नसकेकाले फेरि कम्युनिस्टहरुको बीचमा ध्रुवीकरण हुनसक्ने जिकिर गर्नुभयो । त्यस्तै उहाले कम्युनिष्टलाई कमजोर पार्न खोजिएकै कारण नेकपाको एकता टिक्न नसकको तर्क गर्नुभयो । अहिले एमालेभित्र पनि राम्रा कम्युनिस्ट रहेपनि नेतृत्वमा गलत व्यक्ति पर्दा त्यहाँ रहेका इमान्दर कम्युनिस्टहरु त्यसको शिकार हुने खतरा रहेको उहाले बताउनुभयो । प्रचण्डले एमाले भित्रका इमान्दार कम्युनिष्टहरुले गलत प्रवृतिकाविरुद्ध संघर्ष गर्नुपर्ने उल्लेख गर्नुभयो ।









































