कैलाली, 17 जनवरी
माघ महिनाको शुरुवातसँगै सुदूरपश्चिम प्रदेशमा छोरीचेलीलाई विभिन्न किसिमका परिकार पकाएर दिने पर्व चेली त्यार शुरु भएको छ। विवाह गरेर गएकी छोरीचेलीलाई विभिन्न किसिमका परिकार पकाएर दिने चलनलाई सुदूरपश्चिमको स्थानीय भाषामा ‘चेली त्यार’ अर्थात त्यारभाडो दिने भन्ने गर्दछन। सुदूरपश्चिमका जिल्लाहरु खाश गरि पहाडी जिल्लाहरुमा अहिले ‘चेली त्यार’ को चहलपहल निकै बढेको छ । माघ महिनाभरी यहाँका सडकहरुमा कोसेली बोकेर छोरी–ज्वाइँको घर गइरहेका आमाहरू धेरै देखिन्छन । यो महिनामा छोरीचेली, ज्वाइँ र नातिनातिनालाई खानेकुरा तथा दान दक्षिणा दिए धर्म कमाइन्छ भन्ने जनविश्वास पनि यहाँका मानिसहरुमा रहेको छ ।

माघ महिना भरि विवाह भइसकेकी छोरीलाई माइतीघरमा बोलाएर होस् वा उनकै घरमा गएर ‘चेली त्यार’ (त्यारभाडो) दिने चलन रहेको छ। माघ महिनाभरि यहाँका छोरीचेली कहिले माइती आउलान् र त्यारमाडो अर्थात ‘चेली त्यार’ ल्याउलान भन्ने पर्खाइमा बस्ने गर्दछन । पराई घर गइसकेकी छोरी-चेलीलाई ‘चेली त्यार’ को धेरै महत्व हुने भएकाले माईति नभएकाहरु भने निकै दुःखी हुने गर्दछन । माइती पक्षका कोही नभएका छोरीचेलीहरुले घरको कामहरु गर्दा विरहका गीत गाएर दुःख प्रकट गर्ने गर्दछन ।
सुदूरपश्चिमका दुई जिल्ला कैलाली तथा कञ्चनपुरबाहेक अन्य जिल्ला अछाम, बाजुरा, बझाङ, बैतडी, डडेल्धुरा तथा डोटीमा छोरीलाई त्यार दिने अर्थात ‘चेली त्यार’ दिने चलन परापूर्वकालदेखि चल्दै आएको छ। यस महिनामा सेल, मासलगाएको पुरी, चामलको पिठोबाट बन्ने सुदूरपश्चिमको प्रख्यात रोटी भुने , माडालगायतका परिकार पकाएर हप्तादिन पुग्नेगरी छोरी पक्षकालाई दिने चलन रहेको छ।









































