काठमाडौं, 21 अक्टूबर 2022
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकलाई पुनः निरंकुशता र अराजकताको भूमरीतिर धकेल्ने कसरत भइरहेको बताएका छन् । बाम लोकतान्त्रिक गठबन्धन काठमाडौं क्षेत्र नं ७ ले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा प्रचण्डले अहिले पनि संविधान मिच्ने र मुलुकलाई पुनः निरंकुशता र अराजकताको भूमरीतिर धकेल्ने कसरत भइरहेकाले प्रतिगमन प्रवृत्तिलाई पराजित गर्न गठबन्धन बनेको बताएका हुन्। मंसिर ४ गतेको निर्वाचन एउटा सामान्य निर्वाचन मात्रै नभएको र राष्ट्रको रक्षाको ब्याटल भएको उनले बताए । देशमा अहिले प्रष्टरूपमा दुई वटा गठबन्धन आमनेसामने भएको उल्लेख गर्दै उनले एउटा गठबन्धन अग्रगमनतिर अर्को पश्चगमनतिर, एउटा संविधान जोगाउनेतिर र अर्को संविधान मास्नेतिर देखिएको धारणा राखे । प्रचण्डले विस्तृत शान्ति सम्झौतापछि क्रमशः अगाडि बढेको सहमतिकै आधारमा वर्तमान गठबन्धन तयार भएको बताए ।









































