काठमाडौं, 21 अक्तूबर 2021
मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक फुटबलर्स मिसन टुगेदरले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । प्रतियोगिता कात्तिक ६ देखि १६ गतेसम्म हुनेछ । लिगकम नकआउट प्रणालीमा खेलाइने यस प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गर्नेछन् । २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउनेछन् । एउटा टिममा २० खेलाडी हुनेछन् जसमा ३५ देखी ४० वर्ष उमेर सम्मका तीन खेलाडी हुनेछन् । बाँकी खेलाडी ४० वर्षभन्दा माथिको हुनुपर्नेछ । खेलको समय अवधि ६० मिनेट जसमा एक हाफ ३० मिनेटको हुने फुटबलर्स मिसन टुगेदरका महासचिव धीरेन्द्र प्रधानले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मी भेट्रान्स क्लब र फुटबल फेलोसिप क्लबले प्रतिस्पर्धा गर्नेछन् अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने आयोजकले जनाएको छ ।









































