म्याग्दी, 11 जुलाई 2020
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिकामा शुक्रबार गएको पहिरोमा थप शवहरु फेला परेपछि ज्यान गुमाउनेको संख्या 27 पुगेको छ ।
घटनामा घाइते भएका 12 जनाको बेनी, पोखरा र काठमाडौंको अस्पतालमा उपचार चलिरहेको छ भने चार जना अझै बेपत्ता छन ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीहरुले पहिरोले पुरिएको अवस्थामा उनीहरुको शव फेला पारेका छन ।
अहिलेसम्म धवलागिरी गाउँपालिकामा मात्र 18 जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धवलागिरी-6 मराङका तुबहालुर क्षेत्री, सुकना लामागादे, आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कलला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली रहेका छन् ।
यस्तै 18 वर्षका प्रकाश केसी, अन्दाजी 33 वर्षकी हिरा मति जुग्जाली, अन्दाजी 7 वर्षकी करिश्मा, अन्दाजी 5 वर्षकी कञ्चन, 55 वर्षकी गौशरा, 20 वर्षकी दिमा, उनकी छोरी 4 वर्षकी दिप्ती र एक वर्षका छोरा दिवान जुग्जाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार धवलागिरी-6, कल्लेरीका 51 वर्षीया जमिना केसी र 16 वर्षका सविन पुन हराइरहेका छन् । हराएका भनिएका मराङ रिखाका अन्दाजी 40 वर्षका धनबहादुर जुग्जाली, अन्दाजी 15 वर्षकी रितु कुमारी र अन्दाजी 5 वर्षका अर्जुन जुग्जाली भने सम्पर्कमा आएका छन् ।
यस्तै मालिका गाउँपालिकामा पहिरोमा परेर 8 जनाको मृत्यु भएको छ । प्राप्त विवरणअनुसार मालिका-7 विमका 40 वर्षका विष्णु पौडेल, 4 वर्षकी इच्छा पौडेलको मृत्यु भएको छ । यस्तै गौदेवी नेपाली, विशेष नेपाली, विष्णु नेपाली , सन्दीप नेपाली, वीरबहादुर नेपाली र उनका तीन महिनाकी छोरी निशाको मृत्यु भएको छ । यस्तै रघुगंगा गाउँपालिका-6 ठाडाखानीका अन्दाजी 50 वर्षका नलिमान छन्त्यालको पनि शव भेटिएको छ । प्रहरीका अनुसार 12 जनालाई उद्दार गरिएको छ ।
बेपत्ताको खोजी र उद्धारका लागि शनिबार बिहान सुरक्षाकर्मी घटनास्थल पुगेका हुन् । भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण 24 घण्टापछि मात्रै सुरक्षाकर्मी पुगेका हुन् । पहिरोमा परेर घाइते भएका मराङका दुई र बिमका एक जनाको ओमकुमारी शान्ति कोष र जिसी ग्रुपको समन्वयमा प्रभु एयरको हेलिकप्टरबाट उद्धार गरिएको छ । मराङकी 22 वर्षीया मञ्जिता श्रीपाली र सात वर्षीय सफल श्रीपालीलाई मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ । बिमका 40 वर्षीय पूर्ण परियारको बेनी अस्पतालमा उपचार भइरहेको छ ।









































