काठमाडौं, 1 अप्रैल 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ मिटरब्याज पीडितको समस्या समाधानका लागि आफू गम्भीर रहेको बताएका छन्।शनिबार बिहान मिटरब्याज पीडितहरूसँग सरकारी निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री बन्ने बित्तिकै मिटरब्याजी समस्या समाधानका लागि ऐन बनाउन निर्देशन दिएको र अहिले त्यो पूरा हुने चरणमा रहेको बताए। उनले अहिले गृहमन्त्री पनि आफू नेतृत्वकै पार्टीले पाएको र गृहमन्त्री पनि मिटरब्याज समस्याको समाधानका लागि गम्भीर रहेको बताए।
प्रधानमन्त्री प्रचण्डले पीडितहरूलाई तत्काल राहत हुने र दीर्घकालसम्म पनि हुनेगरी समस्याको समाधान गरिने बताए।‘ म नै प्रधानमन्त्री भएको बेलामा यो समस्याको दिर्घकालीन ढंगले समस्या समाधान गर्नुछ। तत्काल पनि केही गर्नुछ,’ उनले भने।
मिटरब्याज समस्याको तत्काल समाधानका लागि केहीदिन अघि मात्रै उच्चस्तरीय आयोग गठन गर्ने निर्णय भएको प्रधानमन्त्रीले जानकारी गराए।
प्रधानमन्त्रीले मिटरब्याजी साहुकारहरूलाई तत्काल फिल्डमा गएर सिधै कारबाही गर्न सक्ने न्यायिक अधिकारसमेत प्रयोग गर्न सक्ने अधिकारसम्पन्न आयोग बनाइने आश्वासन दिए।
‘त्यो प्रक्रिया अगाडि बढिसकेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
उनले आफू प्रधानमन्त्री भएको बेलामा मात्रै यी समस्या समाधान हुनसक्ने भएकाले नै आफू यसमा गम्भीर ढंगले लागेको बताए।









































