काठमाडौं, 6 अप्रैल 2022
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ बुधबारबाट राखेप फर्किनुभएको छ । राखेपको सदस्यसचिवको विवाद समाप्त भएसँगै बुधबार राखेपमा फर्किएका घिसिङले आफ्नो कामकाज सुरु गर्नुभएको छ । सर्वोच्च अदालतले मंगलबार तत्कालिन राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले आफुलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति दायर गरेको रिट निवदेन खारेज गरेपछि सदस्यसचिवको विवाद समाप्त भएको हो । राखेपमा फर्केपछि घिसिङले चालु आर्थिक वर्ष भित्र नै राष्ट्रिय खेलकुद आयोजनाको निम्ति प्रयास गर्ने बताउनुभयो । उहाले राष्ट्रिय खेलकुदका लागि बैशाख ३० गतेसम्मको समयलाई दूरदर्शी योजना तयार गर्न उपयोग गर्ने जिकिर गर्नुभयो । त्यस्तै उहाले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको सहभागीतालाई बढाउनका लागि आवश्यक ट्रेनिङको व्यवस्था हुनुपर्ने जनाउनुभयो । उहाले समग्र खेलकुदको विकासका लागि सातै प्रदेशसंग छलफल गर्ने जानकारी दिनुभयो । युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले खेलकुद विकास ऐन, २०७७ अनुसार सदस्यसचिवको बर्खास्ती र नियुक्ति गर्नुभएको थियो ।









































