काठमाडौं, 13 जनवरी 2023
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राजनीतिक दलहरूले गठबन्धन गरेर नागरिक स्वतन्त्रताको हनन गरेको टिप्पणी गरेका छन्। आज शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘गठबन्धन गरेपछि किन पार्टी चाहियो ? विसं २०७४ को चुनाव र भर्खरै सम्पन्न चुनावमा पनि गठबन्धन गरियो, जसले गर्दा नागरिकले कुन दल र कस्ता एजेन्डालाई छनोट गर्ने भन्ने अधिकार हनन भएको छ।’
गौतमले ठूला दलले गठबन्धन गर्दा नागरिक स्वतन्त्रताको अधिकार हनन भएको दाबी गरे । गौतमले कांग्रेसले सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय सकारात्मक रहेको पनि बताए । उनले पछिल्लो राजनीतिक परिस्थिति र गठबन्धन सरकारलाई राजनीतिको महाभूकम्पको संज्ञा समेत दिए ।









































