काठमाडौं, 4 मार्च 2023
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक दलहरूले देश र जनताको हित विपरित गठबन्धन निर्माण गरेको आरोप लगाएका छन्। दलहरूरुले संविधानको रक्षाभन्दा देश र जनताको हित हुने गरी गठबन्धन बनाउनुपर्ने तर्क गरेका छन्। शनिबार सामाजिक सञ्जालमा लिङदेनले स्टाटसमा उल्लेख गरेका छन् । संविधान गीता,बाईबल, कुरान जस्तो अपरिर्वनीय नभई आवश्यकता अनुसार फेर्न र फ्याक्न मिल्ने भएकाले जनताको हित अनुसार दलहरुले गठबन्धन बनाउन उनले सुझाव दिएका हुन्। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारमा रहेको राप्रपा राष्ट्रपति निर्वाचनको लागि आठ दलीय गठबन्धन बनेपछि बाहिरिएको हो। प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर बनाएको सरकारमा सहभागी भएको राप्रपा प्रचण्डको पछिल्लो कदम देखि रुष्ट भएको छ। प्रचण्डले कांग्रेस, नेकपा एस लगायत आठ दलीय गठबन्धन निर्माण गरेर कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार उठाएका छन्। एमालेले पार्टी उपाध्यक्ष शुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार उठाएको छ। राप्रपा बाहिरीएपछि एमालेपनि सरकाबाट बाहिरिएको छ। राष्ट्रपति उम्मेदवारको मनोनयनको बेला प्रस्तावक र समर्थक नबसेको राप्रपाले राष्ट्रपति निर्वाचन पनि बहिस्कार गर्ने संकेत देखाएको छ।









































