काठमाडौं, 19 अक्तूबर 2021
राति भेट्नका लागि बोलाए पछि ९ जनाको समूहले तीन बालिकामाथि सामूहिक बलात्कार गरेका छन् । कमलामाई नगरपालिका–५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्नेमाथि सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाए । प्रहरी निरीक्षकका अनुसार घटना गत शनिबार रातिको हो । ‘शनिबार राति ९ जना युवाहरुले बालिकालाई बोलाएर घरनजिकै बोझे खोला बगरमा लगी सामूहिक बलात्कार गरेको पुष्टि भएको छ,’ उनले भने । बलात्कृत हुने बालिका १५, १६ र १७ वर्षका हुन् । प्रहरीका अनुसार बलात्कार गर्ने एक जना र बलात्कृत हुने एक जना बालिकाको पहिलेदेखि नै चिनजान थियो । चिनजान हुनले ती युवकले बालिकालाई फोन गरेर भेट्नका लागि बोलाएका थिए ।बालिका आफ्नै बहिनी र आफन्त बहिनी लिएर उनी भेट्न खोला बगरमा गइन् । त्यही बेला ९ जनाको समूहले तीनै जना बालिकामाथि सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरीद्वारा ९ जनामध्ये ३ जना पक्राउ परेका छन् भने ६ जना फरार रहेका छन् ।









































