काठमाण्डौ, 7 डिसेम्बर
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले मुलुकलाई जोगाउन राजसंस्था अपरिहार्य भएको बताएका छन् । पार्टीको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै नेताहरुले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थालाई पुनस्थापना गर्न सबै नागरिक उठनुपर्ने बेला आएको बताएका हुन् । राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले पार्टीले राजसंस्था र हिन्दुराष्ट्र गरी दुईवटा विषयलाई मूल्य मान्यताको रुपमा स्थापीत गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो पार्टीले बोल्दै आएको दुईवटा मूल्य मान्यताको पक्षमा हिन्दु धर्म र मूलुक सञ्चालन गर्दा राष्ट्रपतिको ओहोदामा, राष्ट्र प्रमुखको ओहोदामा पुरानै संस्था जसले मुलुकलाई अभिभावकत्व दिन सक्छ त्यसलाई ल्याई पक्षपाति व्यक्तिहरु राख्न हुन्न भन्ने मान्यता प्रति मुलुकभरी आन्दोलन चलिरहेको छ ।’
पार्टीका अर्का अध्यक्ष कमल थापाले राप्रपा हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको सिद्धान्तको मूल संवाहक भएको बताउनुभयो । अहिले नागरिक स्तरबाट स्वतस्फुर्त रुपमा यो सिद्धान्तलाई लिएर आन्दोलन भइरहेको प्रति खुशि लागेको बताउनुभयो । राजसंस्था पुनस्थापना गर्ने एजेण्डा कुनै व्यक्तिको स्वार्थसँग जोडिएको नभई देशको राष्ट्रिय अस्तित्व, स्वतन्त्रता र सार्वभौंमिकतासँग गासिएको विषय भएको बताउनुभो । अहिले राजसंस्थाको पुनस्थापनाका लागि निस्किएको जनप्रदर्शन जनताको भावनाको अभिव्यक्ति भएको पनि थापाले बताउनुभयो । उहाँले अव राजा आउ देश बचाउन भन्ने भन्दा पनि जनता आउ राजा ल्याउ देश बचाउ भन्ने बेला भएको बताउनुभयो ।
अर्का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले पनि पार्टीले राजस्था र हिन्दु धर्मलाई पुनस्थापना गर्ने स्पष्ट एजेण्डा लिएर अगाडि बढेको बताउनुभयो । उहाँले अहिले देशलाई जोगाउन संवैधानिक राजसंस्था आवस्यक रहेको पनि बताउनुभयो । राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा लिएर हिडदा धेरैले पछाडि जान थाल्यो भनिरहेको उल्लेख गर्दै अहिले पनि देशका लागि संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेताहरुले केही समय यता स्वतस्फुर्त रुपमा हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्थापनाका लागि जनता सडकमा उत्रिएको र सबै राजनिितक शक्तिहरुले उत्सुकताका साथ हेरिराखेको बताएका छन् । यस्तै अन्तर्राष्ट्रिय समुदायले पनि उत्सुकताका साथ हेरिरहेकाले अव पार्टीले नेतृत्व गरेर आन्दोलनलाई निष्कर्षमा पु¥याउनुपर्ने बेला आएको नेताहरुले बताए ।









































