काठमाडौं, 9 मार्च 2023
नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले आज बिहीबार निर्वाचित हुने राष्ट्रपतिले आफूलाई दलीय संरचनाबाट अलग राख्दै राष्ट्र र जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। राष्ट्रपतिका लागि मतदान गरेर फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नयाँ निर्वाचित हुने राष्ट्रपतिले दलबाट अलग भएर मन, वचन र कर्मले भूमिका निर्वाह गर्नुपर्ने बताए । राष्ट्रपति दलबाट अलग हुन नसके राष्ट्रपति पदलाई नै न्याय नहुने उनको भनाइ छ ।
“लामो समय लोकतान्त्रिक आन्दोलनमा सङ्घर्ष गर्नुभएका रामचन्द्र पौडेल आज राष्ट्रपति पदमा निर्वाचित हुने करिब निश्चित छ”, उनले भने, “यसअघिका राष्ट्रपतिबाट भएका कमजोरीबारे उहाँ जानकार हुनुहुन्छ । त्यसैले पनि उहाँ सुरुमा पार्टीबाट मन, वचन र कर्मले अलग हुनुपर्छ ।”
नयाँ निर्वाचित हुने राष्ट्रपतिलाई आफू अनुकुल संविधानको व्याख्या नगर्न उनले आग्रह गरे ।
“लामो समय पार्टीमा काम गर्नुभएका उहाँले नेपाली कांग्रेसलाई मनबाट निकालेर काम गर्न सक्नुभएन भने राष्ट्रपति पदलाई न्याय गर्न सक्नु हुन्न”, उनले भने ।
उनले भने, ‘राजसंस्थाको जुन परम्पराको अभ्यास भयो। त्यसबाट यसलाई अलग गर्नुपर्छ। त्यो दोष राष्ट्रपतिलाई दिएर हुँदैन। हामीले बनाएको नियम कानुन हो। तर, हामीले कता कता राजसंस्थाको निरन्तरता छ है भनेको जस्तो आभास भयो। यो क्रमलाई हामीले भंग गर्नुपर्छ।’









































