काठमाडौं, 19 सितम्बर 2021
काठमाडौं उपत्यकको प्रमुख जात्रा इन्द्रजात्रा आईतबार धुमधामसँग मनाइएको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोकामा शुरु भएको इन्द्रजात्राको आईतवार विधिवत रुपमा पूजा अर्चना गरेर मनाइएको हो । इन्द्रजात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उर्जामन्त्री पम्फा भुसाल, प्रधानन्याधीश, चोलेन्द्र समशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित अन्य सांसदहरुको उपस्थिती रहेको थियो । जात्रामा लाखेनाच, दशअवतार नाच, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाच लगायतका सांस्कृतिक झाँकी नाचहरुको प्रदर्शन गरिएको थियो । जात्राका अवसरमा राष्ट्रपति भण्डारीले गणेश, भैरव र देवताका सेनापति (कार्तिकेय) कुमारको रथमा दक्षिणा चढाइ यात्रा गराउने अनुमति दिनुभएपछि मात्रै रथयात्राको शुभारम्भ गरिएको थियो । आजको दिन विशेष देवताका राजा इन्द्रको पूजा गर्ने प्रचलन रहेको छ । काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा राजा प्रताप मल्लको पालामा शुरु गरेको बताइन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले शुरु गरेका थिए । असोज ८ गते राती १०:३६ बजे इन्द्रध्वज पतन गरेपछि इन्द्रजात्रा समाप्त हुन्छ । यो काठमाडौं उपत्यकामा मनाइनेमध्येको लामो जात्रा हो ।









































