काठमाण्डौ, 5 जुन 2020
जाजरकोट रुकुम पश्चिममा भएको जातीय घटनाको अध्ययन, अनुसन्धानका लागि संसदीय विशेष समिति गठन हुने भएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले संसदीय विशेष समिति गठन नभएसम्म सदनको कारवाही अघि बढ्न नसक्ने भन्दै अवरोध गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले समिति गठन गरिने जानकारी गराउनुभएको हो ।
उहाँले भन्नुभयो “रुकुम पश्चिम जिल्लाका चौरजहारी नगरपालिका ८ स्थित सोतीमा मा २०७७ साल जेठ १० गते घटेको घटनाको सम्बन्धमा अघिल्ला बैठकहरुमा पनि कुरा उठेको र आजको बैठकमा पनि मानीय पुष्पा भुसाल गौतमले कुरा उठाउनुभएको छ । त्यसैले यी विषयहरुलाई सम्बोधन गर्न उक्त घटनाको आवश्यक अध्ययन तथा अनुगमन गरी सभामा प्रतिवेदन पेश गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुसंग आवश्यक छलफल पश्चात प्रतिनिधिसभा नियमावलि २०७५ को नियम १ सय ७७ बमोजिम संसदीय विशेष समिति गठन गरिने व्यहोरा माननिय सदस्यहरुलाई जानकारी गराउँदछु । ”
यसअघिका प्रतिनिधिसको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलका सांसद मात्रै नभई सत्तारुढ दलका दलित सांससदहरुले पनि घटनाको सत्य तथ्य अध्ययनका लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दे आएका थिए । तर संसदीय समिति गठनको प्रक्रिया अघि नबढेपछि शुक्रबारको बैठक सुरुहुने वित्तिकै प्रतिपक्षी दलका सांसदले उभिएर विरोध जनाएका थिए । लगत्तै सभामुखबाट बोल्ने समय पाएकी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले सरकारले घटनालाई राजनीतिकरण गर्न खोजेकाले प्रतिपक्षी दल संशकित भएको भन्दै संसदीय समिति गठनको माग गरिएको बताउनुयो । उहाँले घटनाबारे गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्ति तथा अपराध अनुसन्धान गर्ने सरकारी निकायका भनाईले पछिल्लो घटना पनि निर्मला पन्तको जस्तै हुने हो कि भन्ने शंका उब्जाएको टिप्पणी गर्नुभयो ।
अन्तरजातिय प्रेम सम्बन्धको विषयलाई लिएर जेठ १० गते रुकुम पश्चिम चौरजहारीमा भएको घटनामा ६ जनाले ज्यान गुमाएका थिए ।









































