काठमाण्डौँ, 20 मार्च 2020
देशभरीका विमानस्थलहरुमा सरसफाईका लागि आवश्यक केमिकल अभाव रहेको पाइएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गैर आवासीय नेपाली संघले गरेको सरसफाई निरीक्षणका क्रममा विमानस्थलहरुमा सरसफाईका लागि आवश्यक केमिकल अभाव रहेको पाइएको हो। सरसफाई अभियन्ता खेम राज शर्माले सीसा र भुई सफा गर्ने छु्टटै केमिकल हरेक विमास्थलहरुमा हुनुपर्ने भएपनि त्यो नभएको पाइएको बताउनुभयो। सरसफाई मजदुरहरुको ड्रेस कोड नभएको र उनीहरुको स्वास्थ्य तथा सुरक्षाका विषयमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो। सरसफाई मजदुरका लागि आवश्यक पर्ने मास्क, चस्मा, पञ्जा लगायतका सामग्रीहरु अभाव देखिएको उहाँले बताउनुभयो।
सरसफाई रिपोर्ट प्रतिवेदन बुझ्दै पर्यटनमन्त्री योगश भट्टराईले अध्ययन प्रतिवेदनबाट आएका सुझावहरुलाई छ्टिटै कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाउनुभएको छ। पहिलो एक महिनामा सुझाव अनुसार नागरिक उड्डयन प्राधिकरण मार्फत विमानस्थलाई पठाउने र तीन महिनापछि पुनः अनुगमन गरी अवस्था सुधार भएको नभएको विषयमा जानकारी लिने उहाँले बताउनुभयो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशभरीका विभिन्न ११ वटा विमानस्थलहरुको सरसफाईको अवस्थाका विषयमा स्थलगत अध्ययन गरिएको थियो। अध्ययनका क्रममा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कुनै पनि विमानस्थलमा सरसफाई नभएको पाइएकोले सरकारले आवश्यक नीति बनाएर अगाडी बढ्नुपर्ने सुझाव दिएको छ।









































