वीरगञ्ज, १० फरवरी, २०५०
हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ ।
स्रोत नखुलेको ५ लाख ५० हजार नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेको छ । पक्राउ पर्नेमा वीरगञ्ज घडिअर्वा बस्ने मदन गुप्ता रहेका छन् ।
प्रहरीले अनुसन्धानका लागि भन्दै एक जनालाई सोमबार पक्राउ गरेको हो ।
वीरगञ्जको रजतजयन्ती चोकबाट प्रहरीले आइतबार उक्त रकमसहित भारतको मोतिहारी जिल्ला पूर्वी चम्पारण रक्सौल डुमरिया टोल बस्ने ५० वर्षीय सुरेश महत्तोलाई पक्राउ गरेको थियो । महतोकै बयानको आधारमा प्रहरीले गुप्तालाई नियन्त्रणमा लिएको हो ।
साढे ५ लाख स्रोत नखुलेको रकमका बारेमा अनुसन्धानका लागि गुप्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी वीरेन्द्र शाहीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेकोले थप जानकारी दिन नमिल्ने उनको भनाइ छ ।









































