काठमाण्डौँ, 7 अप्रेल
गत शनिबार एकैदिन 3 जना कोभिड-19 संक्रमित भेटिएपछि आज मंगलबारसम्म कुनैपनि संक्रमित भेटिएको छैन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित फेला नपरेको बताउनुभएको हो। शनिबार यता 2 सय 55 जनाको परीक्षण गरिएको छ। शनिबारसम्म 1 हजार 4 सय 41 जनाको परीक्षण गरिएको थियो। यस्तै मंगलबारसम्म कुल 1 हजार 7 सय 96 जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो। जसमध्ये 9 जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ भने एक जना उपचार पछि घर फर्किसकेका छन्। प्रवक्ता देवकोटाले उपचाररत 8 जनाको स्वास्थ्य अवस्था समान्य रहेको समेत बताउनुभयो। यस्तै संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ 90 प्रतिशत सम्पन्न भएको समेत उहाँले बताउनुभयो। संक्रमणको जोखिम उच्च भएका जिल्लाहरु कैलाली, कञ्चनपुर, ऱ्यापीड डायगोनेस्टिक टेस्टमार्फत परीक्षण शुरु गरिएको समेत उहाँले बताउनुभयो। जुम्ला र अछाममा पनि परीक्षणका लागि स्वाब लिने काम भइराखेको उहाँले बताउनुभयो।
काठमाडौँ उपत्यका भित्र 16 जना र काठमाडौं बाहिर 84 जना आइसोलेसनमा रहेको र क्वारेन्टाइनमा 9 हजार 2 सय 28 जना रहेको प्रवक्ता देवकोटाले बताउनुभयो। यस्तै रेड जोनमा मंगलबार 17 जना थपिएर 1 सय 72 जना पुगेको उहाँले बताउनुभयो। यसबाहेक काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका 35 जना व्यक्तिहरुको नमुना संकलन समेत भएको उहाँले बताउनुभयो।
विरेन्द्र सैनिक अस्पतालको संयुक्त मेडिकल टोलिले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका अस्पतालहरुका 26 जना स्वास्थ्य कर्मीहरुलाई कोभिड-19 सम्बन्धी तालिम दिने कार्य मंगलबार नै सम्मन्न भएको उहाँले बताउनुभयो।
निजी स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मिहरुलाई सरकारले आवश्यकता अनुसार परिचालन गरेर आ-आफ्नो तह अनुसार सुविधा दिने निर्णय गरे अनुसार काम अगाडि बढाइएको समेत उहाँले बताउनुभयो।









































