काठमाडौं, 28 नवम्बर 2021
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो । खेलमा पुलिसलाई जित दिलाउन सुमन लामाले निर्णायक गोल गरे । तर, जावलाखेलविरुद्ध जित निकाल्न पुलिसलाई दोस्रो हाफसम्म कुर्नु परेको थियो । रोमान्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको तेस्रो मिनेटमा जावलाखेलका ओन्गुना जुनियरले गोलको अवसर गुमाए । पेनाल्टी क्षेत्र भित्रबाट गोलकिपर मात्र रहेको अवस्थामा उनले बाहिर प्रहार गरे । जावलाखेलका अमिर श्रेष्ठले दशौँ मिनेटमा गोलको अवसर गुमाए । पुलिसका डिफेन्डरको गल्तिमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट उनको प्रहारले पोस्टको दिशा लिन सकेन । पुलिसका मान बहादुर परियारको फ्रिकिकमा रबि पासवानले ६५ औं मिनेटमा प्रहार गरेको हेडर बल पोस्टमा लागेर बाहिरिएको थियो । लगत्तै ६७ औं मिनेटमा जावलाखेलका सन्त बहादुर गुरुङको प्रहार पनि पोस्टमा लागेर फर्किएको थियो । तर, ७० औं मिनेटमा पुलिसले अग्रता बनाउन सक्यो । पुलिसका परिवर्तित खेलाडी सुमन लामाले रबि पासवानको पासमा उत्कृष्ट गोल गरे ।









































