काठमाण्डौँ, 4 जनवरी 2020
आगामी शुक्रबारदेखि काठमाडौंको भृकुटीपण्डपमा ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी–2020 आयोजना हुने भएको छ। फर्टेक्स ट्रेड फेयर एण्ड इभेन्टस प्राली र मिडिया स्पेस सोलुसन्सले मंगलबार पत्रकार सम्मेलन गरी संयुक्त रूपमा प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी गराएका हुन्। मिडिया स्पेस सोलुसन्सका प्रवन्ध निर्देशक सृजल भट्टराईले प्रदर्शनीमा निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन तथा नयाँ प्रविधिहरु राखिने बताउनुभयो। उहाँले विभिन्न 15 देशका 3 सयभन्दा बढी ब्राण्डसहितका 2 सय स्टल रहने जानकारी समेत दिनुभयो। प्रदर्शनीले विदेशमा सफलतापुर्वक प्रयोग भएका नयाँ प्रविधिलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन सहयोग पुऱ्याउने भट्टराईले बताउनुभयो।
प्रदर्शनीबाट घर बनाउन चाहने व्यक्ति, आर्कीटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टर्स, विल्डर्स तथा इन्टेरियर डिजाइनर लगायतले फाइदा लिन सक्ने छन्। प्रदर्शनी यही माघ 24 देखि 26 गते सम्म चल्ने छ।









































