काठमाडौं, 23 सितंबर 2022
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षकबाट जानी–बुझी संविधान मिच्ने काम भएकोले प्रतिगमनको खतरा बढेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित अखिल नेपाल किसान महासंघको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहाले नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले संविधानको उलंघन गरेको बताए।
प्रचण्डले भने,’ राष्ट्रपतिबाट जानीजानी संविधान मिच्ने काम भयो। नजानेर होइन। हजारौंको बलिदानबाट, लाखौंलाख किसान ,मजदुर, उत्पीडितको आन्दोलनका उपलब्धि खोस्ने प्रयास भएको छ।’
उनले नागरिकता विधेयकमा राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध सबै किसान एकजुट भएर अभियान नै संचालन गर्न आग्रह गरे। ‘संविधानको पालक, रक्षकबाट नै संविधान मिच्ने काम भएको छ। यो सामान्य होइन,’ उनले भने,’ यो कदमका विरुद्ध अभियान संचालन गर्न आग्रह गर्दछु।’
उनले परिवर्तन विरोधी शक्तिहरु माओवादी आन्दोलन असफल पार्न लागिपरिरहेको बताए।
अहिले पनि एकथरी समूह आफ्नोविरुद्धमा षडयन्त्र गरिरहेको उनको भनाइ छ। उनले भने, ‘ एकथरी मानिसहरु राजनीतिक धुप बालेर बसेका छन्।
प्रचण्ड सिद्धियोस् भनेर । यो देशमा अस्थिरताको कारण प्रचण्ड हो भनेर प्रचार गरिदै आएको छ।’









































