काठमाडौं, 20 अक्टूबर 2022
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणमा पर्याप्त ध्यान दिन नसके जनजीवन खतरतापूर्ण बन्ने अवस्था रहेको बताएका छन् । बिहीवार राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्राकृतिक स्रोत, साधनको संरक्षण, सम्बद्र्धन वातावरणअनुरुप दिगो रुपमा अघि बढाउन जरुरी रहेको बताए । अन्तर्राष्ट्रिय प्राकृतिक संरक्षण संस्थाहरूसँगको सहकार्य र समन्वय बिस्तार गर्दै मुलुकको प्रकृति संरक्षणमा अझ बढी योगदान दिन आवश्यक रहेको उनको भनाइ छ।
उनले भने, ‘नेपाल प्राकृतिक स्रोतसम्पदाले भरिपूर्ण मुलुक हो। प्रकृति संरक्षणमा पर्याप्त ध्यान दिन नसके यसबाट पर्यावरण,जैविक असन्तुलन भइ हाम्रो जनजीवन खरतापूर्ण बन्ने अवस्था छ। हाम्रो पहलमा नेपालको संविधानले स्वच्छ, वातावरणको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। यसलाई प्राकृतिक स्रोत, साधनको संरक्षण, संवर्द्धन वातावरण अनुरूप दिगो रूपमा अघि बढाउन जरुरी छ। अन्तर्राष्ट्रिय प्राकृतिक संरक्षण संस्थाहरूसँगको सहकार्य र समन्वय बिस्तार गर्दै मुलुकको प्रकृति संरक्षणमा अझ बढी योगदान पुर्याउने विश्वास लिएको छु। प्रकृतिको गहनाका रूपमा रहेका विविध प्रजातिका वन्यजन्तुहरूको उपस्थितिले प्रकृति संरक्षण र जैविक विविधताको अध्ययनमा नेपालले प्रशस्त आर्थिक लाभ लिनसक्ने सम्भावना छ। प्राकृतिक सम्पदा र वन्यजन्तुहरुको उपस्थितिले मुलुकमा प्रकृतिमा आधारित पर्यटन प्रवद्धन गरी आर्थिक अवस्थालाई सहयोग पुर्याउन सकिन्छ।’
प्रधानमन्त्री देउवाले नेपाली संरक्षित क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक हुने भएकाले यस्ता क्षेत्रको व्यवस्थापन गरी आगामी दिनमा सबै संरक्षित क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न र पर्यटकीय सेवाहरूको स्तरोन्नतिमा जोड दिन आवश्यक रहेको उल्लेख गरे ।









































