काठमाडौं, 29 जुलाई 2020
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुले पार्टीका विभाग विस्तारको काम रोक्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन। पार्टी कार्यालयमा भेला भएका पौडेल समूहका नेताहरुले विधान विपरित विभाग गठनको काम नगर्न आग्रह गरेका हुन् । पार्टीको १४ औं महाधिवेशनलाई प्रभावित पार्ने गरी भइरहेका विभाग गठनको काम रोक्न पौडेल पक्षका नेताहरुले आग्रह गरेका छन। कांग्रेस महामन्त्री शशांक कोइरालाले आचारसंहिता लागु भइसकेको अवस्थामा विभाग गठनको काम अघि बढाउनु विधान विपरित भएको बताउनुभयो। महाधिवेशनलाई प्रभावित पार्ने गरी भइरहेका निर्णय विरुद्ध अझ सशक्त भएर अगाडी बढ्न आज बैठक बोलाइएको उहाँले बताउनुभयो। आगामी महाधिवेशनमा आफु सभापतिको दावेदार भएको उल्लेख गर्दै कोइरालाले नयाँ मान्छेलाई पार्टी प्रवेश गराउने र पुराना नेताहरुलाई पार्टीबाट निकाल्ने काम भइरहेको भन्दै असन्तुष्टि समेत जनाउनुभयो।
महाधिवेशन भएको ४ वर्षम्म विभाग गठन गर्न तयार नभएका सभापति देउवालाई महाधिवेशनको मुखमा किन हतारो भयो भन्दै उहाँले प्रश्न समेत गर्नुभयो। केन्द्रीय सदस्य चन्द्र भण्डारीले विधान अनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नु पर्ने भएपनि विधान विपरित अहिले गठन भइरहेको कुराको विरोध स्वरुप भेला आयोजना गरिएको बताउनुभयो । यसअघि नै अहिले गठन भएका विभागहरुले वैधानिकता पाउँदैनन भनेर सभापति देउवालाई पत्र पठाइएको उल्लेख गर्दै उहाँले पार्टीको कुनै पनि पद दाइजो जसरी बाँडेर हिड्ने अधिकार सभापतिलाई नभएको बताउनुभयो । कसलाई के पद दिने भन्ने अधिकार केन्द्रीय समितिलाई मात्रै भएको उहाँको भनाई छ । पार्टीको महाधिवेशन कार्यतालिका तय भइसकेको अवस्थामा विभाग गठन लगायतका काम निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै पौडेल समूहले विरोध जनाउँदै आएको छ।









































