काठमाण्डौ, 28 सेप्टेम्बर 2020
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाले गर्नुभएका पछिल्लो निर्णयहरु सच्याउन माग गर्दै पार्टी कार्यालयमा विरोधपत्र दर्ता गराएको छ। महाधिवेशनलाई प्रभावित पार्ने गरी सभापति देउवाले विधान विपरित विभिन्न विभाग गठन गरेको लगायतका सबै निर्णय सच्याउन माग गर्दै पार्टी कार्यालय सानेपामा विरोधपत्र दर्ता गराएका हुन। पौडेल समूहले पार्टीलाई विधानसम्मत सञ्चालन गरी महाधिवेशनलाई स्वच्छ र निष्पक्ष गरिकाले सम्पन्न गर्ने वातावरण बनाउन समेत माग गरेको छ। पौडेल समूहले असोज १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अगाडि नै आफ्ना सबै माग पुरा नगरे संघर्षका कार्यक्रम अगाडि बढाउने चेतावनी समेत दिएको छ । विरोधपत्र दर्ता गराएपछि पत्रकारहरुसँग कुरा गर्दै काँग्रेस नेता नविन्द्रराज जोशिले महाधिवेसनलाई निश्चित समयमै निस्पक्ष र स्वतन्त्र तरिकाले सम्पन्न गर्न दवाव स्वरुप विरोधपत्र दर्ता गराएको बताउनुभयो । सभापति देउवाले विधान विपरित २८ वटा विभागलाई ४८ पु¥याएको, विभागको जिम्मेवारी दिएर पार्टीका जिम्मेवार नेताहरुलाई नै अपहेलना गरेको बताउनुभयो । सरकारले गरेका गलत कामहरुको सम्बन्धमा पार्टीले राजनीतिक कार्यक्रम लिएर सडक देखि सदन सम्म विरोध गर्न नसकेको समेत उहाँले बताउनुभयो । उहाँले आफुहरुले राखेका माग पुरा नभए थप संघर्ष गर्न देशभरका पार्टी सदस्यहरुलाई आग्रह गरिने समेत स्पस्ट पार्नुभयो ।
काँग्रेसका अर्का नेता चन्द्र भण्डारीले काँग्रेसलाई मजबुत र विधिसम्मत तरिकाले अगाडी बढाउन नसक्दा देशमा अराजकता आएको बताउनुभयो। काँग्रेस कमजोर हुँदा देश अस्तव्यस्त हुने भएकाले त्यसको समाधानका लागि कांग्रेसलाई मजबुत बनाउने अभियानमा आफुहरु लागेको उहाँले बताउनुभयो । काँग्रेसको सुधारका लागि बुलेट प्रुफ ट्रेन चलाउन लागिएको पनि उहाँले बताउनुभयो ।
पौडेल समूहका तर्फबाट केन्द्रीय सदस्यहरु नविन्द्रराज जोशी लागयतका नेताहरुले पार्टी कार्यालयमा मुख्य सचिव कृष्णप्रसाद पौडेललाई विरोधपत्र बुझाएका हुन। जसमा पार्टीको विधान विपरित कुनैपनि सदस्यले गतिविधि गर्न नहुने र त्यसको संरक्षण एवं पालना गर्ने पहिलो जिम्मेवारी पार्टी सभापतिको हुने र त्यसमा आफुहरुले कहिं कतै सम्झौता गर्न नसक्ने उल्लेख छ।









































