काठमाडौं– संविधान संशोधनको प्रयास असफल भएपछि समाजवादी पार्टीले सरकार छाडेको छ।
उपप्रधानमन्त्री एवं कानून , न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले आजै राजीनामा दिएका हुन्। रानीनामा पत्रमा मन्त्री यादवले सरकारले संविधान संशोधन सहितका दुई बुंदे माग सरकारले एकतर्फी रुपमा तोडेको आरोप लगाएका छन्।
उनले सोमबारको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न संविधान विज्ञहरु सम्मिलित विज्ञ सुझाव समिति गठन गर्ने प्रस्ताव लगेका थिए।
उक्त प्रस्तावलाई अस्वीकार भएपछि यादवले राजनीनामा दिने मोड बनाएका थिए। ‘दुईबुंदे सहमतिबाट सरकार पछाडि हटेको तथा सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकोले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा मन्त्री पदबाट राजीनामा दिएको हुँ’ यादवले पत्रमा उल्लेख गरेका छन्।
तत्कालिन संघीय समाजवादी फोरम, नेपाल तथा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेष्ठ १४ गते संविधान संशोधन लगायत हामीले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरु सम्बोधन गर्ने शर्तसहित दुईबुंदे सहमतिका आधारमा मात्र हाम्रो पार्टी सरकारमा सामेल भएको थियो’ राजीनामा पत्रमा यादवले भनेका छन्,‘हामीले मन्त्रिपरिषद् बैठक तथा संसदमा पटक–पटक यी विषयहरु प्रवेश गराउनुका साथै संविधान संशोधन लगायतका विषयहरु राखी प्रधानमन्त्री समक्ष स्मरण–पत्र पनि दिएका थियौं।’









































