समानुपातिक सांसद बनाउँदा संविधानको ठाडो उल्लंघन भयो : सभापति लामिछाने
काठमाडौं ,1 नोभेम्बर 2023
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित गर्दा संविधानको ठाडो उल्लंघन भएको बताएका छन् ।
सभापति लामिछानेले संविधानको मर्मविपरित धनाढ्य व्यक्तिहरुलाई समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाइएको बताए । महिलाको कोटामा शक्तिशाली राजनीतिक दलका नेताका परिवार सदस्यहरु नियुक्त भइरहेको उनको धारणा थियो ।
‘जनजातिको नाममा धनाढ्य व्यक्तिहरु जसको उपस्थिति ब्राण्डेड लुगा लगाएर पछिल्लो सिटमा बस्ने, आउने जाने बाहेक हामीले देख्न पाएका छैनौं । त्यसैगरी शक्तिशाली राजनीतिक दलका परिवारका सदस्यहरु महिलाका कोटामा आएका छन् । दलित, मधेसी, थारु, मुस्लिम लगायतका समूहबाट पनि शक्तिशाली व्यक्तिहरु वर्षौंदेखि राजनीतिमा छन् र वर्षौंदेखि स्थापित भइरहेकाहरु नै आएका छन् । पटकपटक मन्त्री भएका नेता यही प्रणालीबाट सांसद भएका छन् । संविधानको ठाडो उल्लंघन भएको हामी सबैलाई थाहा छ, ’ उनले भने ।
सभापति लामिछानेले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनका लागि निर्वाचन आयोगलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै त्यसका निम्ति आफूहरु सांसदको रुपमा भूमिका खेल्न तयार रहेको उल्लेख गरे ।









































