काठमाण्डौ, 10 अगस्त 2020
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रणमा सरकार असफल भएकोले जनतालाई आफै सुरक्षीत रहन आग्रह गरेको छ । पार्टीको कोभिड—१९ सम्बन्धि अनुगमन समितिले कोरोना नियन्त्रणमा सरकारी संयन्त्रहरु पूर्ण रुपमा असफल भएकाले जनतालाई आफै सुरक्षीत राख्न आग्रह गरेको हो । कांग्रेस पार्टी कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा समितिका संयोजक प्रकाशशरण महतले सरकारले सुरक्षीत गर्छ भन्ने सोचेर नबस्न सबैमा आग्रह गर्नुभयो ।
उहाँले सरकारलाई तत्काल कोभिड नियन्त्रणको जिम्मेवारी प्रभावकारी नेतृत्वलाई दिन पनि आग्रह गर्नुभयो । सरकारले स्वास्थ्य मन्त्रालयमा योग्यता, वरिष्ठता र व्यवसायिकतालाई वेवास्ता गर्दा नेतृत्व प्रभावकारी नदेखिएको उल्लेख गर्दै उहाँले वरिष्ठता र व्यवसायिकताका आधारमा मन्त्रालयमा जिम्मेवारी दिन आग्रह गर्नुभयो । समितिले आवश्यक संख्यामा भेन्टिलेटर, अस्पताल बेड, आइसियु कक्ष, अक्सिजन र अन्य स्वास्थ्य उपकरणहरुको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । स्वास्थ्यकर्मी र संलग्न सहयोगीहरुको हौसला कायम राख्न कोभिड—१९ जोखिम भत्ता तत्काल व्यवस्थान गर्न पनि समितिले सरकारसँग माग गरेको छ । लक डाउन खुला भएपनि आर्थिक, सामाजिक क्षेत्रहरु पूर्ण रुपमा सूचारु हुने अवस्था नरहेकाले यी क्षेत्रमा जोखिम न्यून गर्न सरकार गम्भिर हुन समितिले आग्रह गरेको उहाँले बताउनुभयो । सीमा प्रवेशमा कडाई गर्नुपर्ने, सम्भावित संक्रमित ठाउँहरुको सघन अनुगमनका आधारमा परीक्षणको दायरा व्यापक बनाउनुपर्ने माग पनि कांग्रेसले गरेको छ । पूर्ण लक डाउन देशले धान्न सक्ने अवस्था नभएकाले परीक्षणको नतिजाको आधारमा संक्रमित ठाउँहरुका लक्षित लक डाउन र आइसोलेसनको व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ । खाडी देशहरुमा रोजगारी गुमाएर भिसा अवधि सकिएकाहरुलाई तत्काल स्वदेश फिर्ता गर्न र आर्थिक अभावमा रहेका नागरिकलाई सहयोग गर्न सम्बन्धित कुटनीतिक निकायलाई परिचालन गर्न पनि समितिले माग गरेको छ ।









































