काठमाडौं, 8 अगस्त 2020
अधिकांश समय घर व्यवहारमै व्यस्त रहने शिक्षित गृहिणीहरु पछिल्लो समय आफ्ना अनुभूति पुस्तकमा उतार्न थालेका छन । यसैक्रममा सरस्वती अर्यालले आफ्नो पहिलो पुस्तक ‘हिमाल हेर्ने पाइलाहरु’ सार्वजनिक गर्नुभएको छ । जागिरे श्रीमानको संगत र उहाँसँग देशका विभिन्न ठाउँमा आफुले बिताएका पलहरुलाई उहाँले पुस्तकमा समेटेर सार्वजनिक गर्नुभएको हो । अर्यालले आफ्नो कृतिमा जागिरे श्रीमानको सरुवाका क्रममा आफु पुगेका ठाउँहरुको सुन्दरता, सांस्कृतिक र पर्यटकीय पक्षहरु समेट्नु भएको छ । विशेषगरी नेपालको हिमाली जिल्लाहरुमा उहाँले विताउनुभएको समय तथा त्यहाँको भौगौलिक, सामाजिक, सांस्कृति र पर्यटकीय अवस्थाका विषयहरु उहाँले पुस्तकमा दुरुस्तै टिप्नुभएको छ । अर्याललको कृतिले तात्कालिन समयको समाजको सबै पाटोहरु पनि समेटेको छ । पुस्तकमा मनाङ देखि मुक्तिनाथ र लाङटाङसम्मका कथा समेटिएका छन । विदा मनाउन वा अन्य कुनै अवशरमा घुम्ने मौका जुराउँदै विश्वका विभिन्न मुलुक डुल्न रुची राख्नेहरुका लागि अर्यालको कृतिले आफ्नो भूमिमा घुम्ने र रमाउन सकिने प्रशस्तै ठाउँहरु छन भन्ने सन्देश दिएको छ। नेपाली साहित्यमा नारी श्रष्टा समेत बढ्न थालेको अनुभूति उहाँको कृतिले दिएको छ ।









































