काठमाण्डौँ, 7 फरवरी 2020
विभागीय टोली नेपाल पुलिस क्लब र थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार जित निकालेका छन्। ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा भएको खेलमा थ्री स्टारले संकटा क्लबमाथि जित निकालेको हो। जितसँगै थ्री स्टार क्लब अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको खेलको ६१ औं मिनेटमा अनन्त तामाङले निर्णायक गोल गरे। यसअघि १२ औं मिनेटमा थ्री स्टारका सन्जोग राईले पेनाल्टी एरिया भित्रबाट हेडरमार्फत गरेको प्रयास असफल भएको थियो। जितसँगै थ्री स्टारले ११ खेलबाट २० अङ्क जोडेको छ। समान खेलबाट १५ अङ्क जोडेको सङ्कटा छैठौं स्थानमा छ।
शुक्रबार नै भएको अर्को खेलमा पुलिसले भरत शाहको गोलमा ब्रिगेड ब्वाइजमाथि १–० को जित निकालेको छ। शीर्ष पाँचमा उक्लिने क्रममा २९औं मिनेटमा भरतले गरेको गोल नै पुलिसले जारी लिगमा पाँचौ जित निकाल्न सफल भएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा नीर कुमार राईले कर्नरमार्फत गरेको क्रसलाई भरतले हेडरमार्फत गोल गरेका थिए। पहिलो हाफमा लिएको अग्रतालाई पुलिसले दोस्रो हाफममा पनि कायम राख्दै तीन अंक जोड्न सफल भएको हो। जितसँगै ११ खेलमा १७ अंक जोडेको नेपाल पुलिस क्लब तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। समान खेलबाट ८ अंक जोडेको ब्रिगेड ब्वाइज क्लब तालिकाको ११औं स्थानमा छ।
शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबको ११ खेलबाट २६ तथा दोस्रो स्थानको मछिन्द्र क्लबको सामान खेलबाट २५ अङ्क छ । एक खेल कम खेलेको मनाङ मस्र्याङ्दी क्लबको १९ अङ्क छ । लिगमा शनिबार तीन खेल हुनेछन् ।









































