दिल्ली, 10 फरवरी 2022
रोजगारीका लागि डेढ महिना अघि साउदी अरब पुगेका 45 जना भन्दा धेरै नेपाली कामदार अलपत्र परेका छन् । उनीहरू गत डिसेम्बर 26 तारिखमा त्यहाँ पुगेका थिए । काठमाडौँस्थित मन्टेज ओभरसीज प्रालि मार्फत साउदीमा रहेको भिजुवान लोजेष्टिक कम्पनीमा प्लम्बर लगायत विभिन्न काममा भनेर पठाइएका नेपाली कामदार अहिले रियादमा अलपत्र परेका हुन् । मेनपावर कम्पनीलाई प्रति व्यक्ती 1 लाख 60 हजारदेखि 2 लाखसम्म बुझाएर साउदी पुगेका उनीहरूलाई काम नदिएर कम्पनीले अलपत्र पारेको पीडित मध्यका एक रुपन्दे-हीका नैम अलीले जानकारी दिए । उनका अनुसार 2 महिना हुन लाग्दा समेत कम्पनीले काममा नलगाई एउटा लेबर क्याम्पमा राखेको तथा गुणस्तरहीन खाना त्यो पनि आधा पेट खाएर बाच्नु परेको दुखेसो पोखेका छन्। हाल सम्म कम्पनीले दुई सय रियाल मात्र दिएको र एउटै कोठामा तीस जना भन्दा बढी राखेको उनीहरूको भनाइ छ । पठाउने एजेन्टले समेत सम्पर्कबिहिन भएकाले आफूहरू थप समस्यामा परेको उनीहरू बत्ताउँछन् । ‘रियादस्थित नेपाली दूतावासलाई जानकारी गराएको र दूतावासले भनेअनुसारको निवेदन दिए पनि कुनै पहल छैन।’ उनले थपे। वैदेशिक रोजगारबाट आएको रेमिट्यान्सबाट सेवा सुविधा लिने राज्यका निकायबाट कुनै सहयोगको सम्भावना नभएपछि अलपत्र परेका युवाहरुले सञ्चारमाध्यमलाई गुहारेका छन्। त्यहिँ कम्पनीमा ब्लू स्काई इन्टरनेशनल प्रालिमार्फत डिसेम्बर 6 तारिखमा पुगेका 16 जना भन्दा बढी नेपाली युवाहरू अलपत्र परेको र उनीहरूले पनि आफूहरूलाई उद्धार गर्न आग्रह गरेका छन् ।









































