सिक्किम, 24 जनवरी 2020 / के.एन. शर्मा
इभेनजेलिकल प्रसबाइटेरियन चर्च युथ गेलोशिप सिक्किमको आयोजनामा 26 औं वार्षिक युथ सम्मेलन सम्पन्न भएको छ। बिहीबारबाट शुरु भएको दोस्रो दिनको कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेम सिङ गोले मुख्य अतिथिको रुपमा उपस्थित रहनुभएको थियो। सम्मेलनमा मन्त्री लोकनाथ नेपाल, विधायक जी टी ढुङ्गेल, विधायक आदित्य गोले, मुख्य मन्त्रीका राजनीतिक सचीव जेकव खालिङलगायत सिक्किम राज्यका विभिन्न ट्रस्टबाट भेला भएका इसाई समुदायका प्रतिनिधि अनि छिमेकी राज्यबाट आम नागरिकको बाक्लो उपस्थिति रहेको थियो। 26 जनवरीका अर्थात् गणतन्त्र दिवसका दिन समापन हुने यस 4 दिने कार्यक्रमको दोस्रो दिन शुक्रबार मुख्य अतिथि गोलेले 1950-मा स्थापना भएको सिमकुना भस्मे च्याखुङ- रम्बक (मण्डली) इभेनजेलिकल प्रेसबाइटेरियन चर्चमा प्रार्थन गरेपछि कार्यक्रम औपचारिक रूपमा सुरु भएको थियो।

26औँ युवा सम्मेलनमा सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले आफ्नो जन्मथलो च्याखुङ नभए पनि कर्मथलो रहेको तर्क गर्दै यस महान स्थलमा आफ्नो एक गाउँले छोराको रुपमा उपस्थित रहेको बताउँदै यो युवा सम्मेलन एक ऐतिहासिक रहेको भन्नुभयो। उहाँले युथ कन्भेन्सन अर्थात् युथ सम्मेलनको आयोजना गर्दा धेरै बाधा-अड्चना आउने उल्लेख गर्दै यो कार्यक्रम बिनाकुनै बाधा-अड्चना सफल भइरहेकोमा खुशी व्यक्त गर्नुभयो। युवाहरूलाई सम्बोधन गर्दै उहाँले युवा देश र समाजको निम्ति एक पाइला अगाडी बढे त्यसपछिका पाइलाहरूमा सहयोग गर्ने बताउनुभयो। मुख्यमन्त्री पद आफ्नो नभएर सिक्किममे जनताको भएको बताउँदै वर्तमान सिक्किम सरकारले युवामुखी कार्यक्रमलाई सहयोग गर्ने तर्क गर्नुभयो। उहाँले सरकार चलाउन वर्तमान युवाहरुको सुझावको खाँचो पर्ने उहाँको कथन थियो। उहाँले सिक्किमका युवाहरुलाई सिक्किममै विभिन्न किसिमको अवसर प्रदान गर्न सिक्किम सरकार लागी परेको बताउनुभो।

विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा पास्टर साथै एन्जलहरुले आशीर्वचन राखेका थिए।










































