सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको हेलिकप्टर दुर्घटना
काठमाडौँ, 14 अक्टोबर 2023
सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको हेलिकप्टर शनिबार बिहान दुर्घटना भएको छ ।
नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार लुक्लाबाट बिहान ७ बजेर १३ मिनेटमा सोलुखुम्बुमा पर्यटक लिन गएको मनाङ एयरको ९ एन-एएनजे कलसाइनको हेलिकप्टर अवतरण गर्ने बेला दुर्घटनामा परेको हो ।
हेलिकप्टरमा पाइलट मात्रै सवार थिए । दुर्घटनामा घाइते भएका पाइलट प्रकाशकुमार सेढाईंलाई फिस्टेल एयरको हेलिकप्टरमा उपचारका लागि काठमाडौं ल्याइँदै छ ।
असन्तुलित भएर हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनाको कारण खुलिसकेको छैन । दुर्घटनापछि जहाजमा आगलागी भएको छ । मनाङ एयरको यो एउटा मात्रै हेलिकप्टर हो । जहाज लुक्लामै रहेको थियो ।









































