काठमाडौं,17 अगस्त 2020
अद्यावधिक नक्सा अनुसार नयाँ डिजाइन गरिएको लोगो भद्दा भएको भन्ने प्रतिक्रियाहरु आइरहेपछि पनि सांसदरुले ग्रहण गरेका छन। सांसदहरुले लगाउने नयाँ नक्साअनुसारको लोगो भद्दा भएपनि स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न भएपनि ग्रहण गरिएको प्रतिक्रिया दिएका छन। सामाजिक सञ्जालमा र कतिपय सांसदहरुले नै लोगो डिजाइनमा हेलचेक्र्याई गरिएको टिप्पणी भइरहेपनि स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न स्वीकार गरिएको सांसद शशी श्रेष्ठले बताउनुभयो। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहनु भएका सांसद श्रेष्ठले लोगोमा नेपालको नक्सालाई कलात्मक बनाउन सकिने भएपनि त्यसो हुन नसकेको बताउनुभयो। स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने विषय सहि भएको तर हातले नै लोगो निर्माण गर्दा पनि फिनिसिङमा ध्यान दिएर बनाउन नसकेको बताउनुभयो।

सांसद रामकुमारी झाँक्रीले लोगो निर्माण गर्दा फिनिसिङमा ध्यान नदिएकोले भद्दा देखिएको बताउनुभयो। आफुहरुले स्वदेशी उद्योगलाई सधै प्रवर्द्धन गर्न आवाज उठाउँदै आएकाले विरोध गर्न नमिल्ने भन्दै उहाँले घुमाउरो गरी असन्तुष्टि व्यक्त गर्नुभयो। संसदको लागो डिजाइन ८७ वर्षे टेकवीर मुखियाले गर्नुभएको हो । मुखियाले बनाएको लोगोको डिजाइन अनुसार लोगो निर्माण भएको देखिदैन। बागमती प्रदेशअन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई लोगो निर्माणको अर्डर दिएको थियो । लोगो निर्माण हुँदा डिजाइन भन्दा केही भिन्न रुपमा तयार भएको पाइएको छ । सांसदहरुले भने लोगोमा रहेको नेपालको नक्सा स्पस्ट नभएको र कलात्मक बनाउन नसकेको बताएका छन् ।









































