नयाँ दिल्ली, 12 जुलाई 2020
हाम्रो स्वाभिमान ट्रस्टले आइतवार आदिकवि भानुभक्त आचार्यको 206 औं जन्मजयन्ति मनाएको छ । भानु जयन्तिका अवसरमा हरेक वर्ष वृहत रुपमा कार्यक्रम गर्दै आएको ट्रस्टले यसपाली भने कोभिड-19 प्रकोपका कारण भर्चुअल रुपमा कार्यक्रम गरेको हो । जन्मजयन्तिका अवसरमा राष्ट्रीय स्तरको कविता वाचन प्रतियोगिता गरिएको थियो। विहान 10 बजेबाट शुरु भएको यस कार्यक्रममा भारतका विभिन्न क्षेत्रबाट मानिसहरु सहभागि भएका थिए । जुम मिटिङ मार्फत गरिएको यस कार्यक्रमलाई विभिन्न फेसबुक पेजहरुबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।



कविता वाचन प्रतियोगिता विभिन्न उमेर समूहमा विभाजन गरि गरिएको थियो । जस मध्ये 10 वर्षसम्मको समूहमा दिल्लीकी अनुष्का भण्डारी प्रथम भएकी छिन भने नोएडाकी गौरवी कार्की द्वितिय भएकी छिन र सोही समूहमा असमका अविनाश भण्डारी तृतिय भएका छन ।
त्यसैगरि 11 वर्षदेखि 15 वर्ष उमेर समूहमा असमका ध्रुवराज भट्टराई प्रथम, असमकै शाश्वत उपाध्याय द्वितिय र सिलिगुडीका आर्यन खवास तृतिय भएका छन ।
र 16 वर्षदेखि 20 वर्ष उमेर समूहमा दार्जीलिङका पार्थक दियाली प्रथम, दार्जीलिङकै प्रतिमा भुजेल द्वितिय र सिलिगुडीकै लमस गुरुङ तेस्रो भएका छन ।
यस कार्यक्रममा नेपाली साहित्यिक जगतका श्रष्टा लगायतका नेपाली भाषीहरु जोडिएका थिए ।









































