हिमाचल प्रदेश/2 मार्च
नेपालीहरुको बाक्लो संख्या रहेको हिमाचल प्रदेशको कूल्लू मनालीमा शेर्पा समूदायको नयाँ वर्षका रुपमा रहेको ग्याल्पो ल्होसार आइतबार भब्यताका साथ मनाइएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको व्यवस्थापनमा गरिएको ग्याल्पो ल्होसार कार्यक्रममा मूल प्रवाह कूल्लू मनालीका अध्यक्ष साईला लामा प्रमुख अतिथिका रुपमा उपस्थित रहनुभएको थियो ।

विहान 10 बजेबाट शुरु भएको कार्यक्रम साँझ 7 बजेसम्म चलेको थियो । हरेक नेपाली चाडपर्वलाई उत्साहका साथ मनाउने कूल्लु मनालीमा यहाँका स्थानियहरुले पनि महत्व दिने गरेका छन । उनिहरुले मनाएको ल्होसार पर्वलाई विशेष महत्व दिदै स्थानिय संचार माध्यम पनि समाचार कवर गर्न पुगेका थिए ।
समारोहमा करिब 5 सयको संख्यामा प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो । समारोहमा सांस्कृतिक कार्यक्रम मुख्य आकर्षणको केन्द्र रहेको थियो । उपस्थित प्रवासी नेपालीहरु पनि सांस्कृतिक कार्यक्रममा रमाएका थिए । ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् ।









































