काठमाण्डौँ, 18 जनवरी 2020
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालका हिमालहरु सुरक्षित र सफा छन् भन्ने सन्देश विश्वभरी दिनुपर्ने बताउनुभएको छ। कञ्चनजंघा हिमाल सरसफाई अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले बाहिर जतिसुकै नकारात्मक कुराहरु आएपनि नेपालका हिमाल सुरक्षित रहेको बताउनुभयो। नेपाली हिमालहरु सफा छन् भन्ने सन्देश विश्वभरी फैलाएर पर्यटन आवागमन बढाउनेतर्फ सबैको ध्यान जानुपर्ने उहाँको भनाई छ। भ्रमण वर्षलाई ख्याल गर्दै हिमालहरु सुरक्षित छन्, हिमालहरु सफा छन्, भन्ने सन्देश विश्वमा दिनका लागि 2020-मा हिमाल आरोहणको अभियानलाई अगाडी बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो।
नेपालको आर्थिक विकास र पर्यटनका लागि हिमालहरु महत्पूर्ण सम्पत्ति भएको मन्त्री भट्टराईको भनाई छ। अहिले 46, 46 करोड राजस्व संकलन हिमालबाट भएपनि यो अत्यन्तै न्यून भएको र बढी राजस्व उठाउनेतर्फ ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।
हिमालसँग जोडिएका स्थानीय सरकार र प्रदेश सरकारहरुलाई समेत अभियानमा सहभागि गराउन सकेमात्रै सबैले अपनत्व ग्रहण गर्न सक्ने उहाँले बताउनुभयो।









































