काठमाडौं, 8 मार्च 2022
नेपाल इन्जिनियर्स एशोसिएशनको ३३औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि बृहत् राष्ट्रिय प्रगतिशील गठबन्धनले इन्जिनियरलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्ने दावी गरेको छ । गठबन्धनले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गठबन्धनतर्फका अध्यक्षका उम्मेदवार डा सुरज लामिछानेले इन्जिनियर समाजमा नै रहेकाले इन्जिनियरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्ने बताउनुभयो । उहाँले इन्जिनियर र समाजको समन्वय मिलाइने बताउनुभयो । उहाँले अहिले इन्जिनियर पढे पनि न्यूनतम तलबमा काम गर्नुपरेको भन्दै इन्जिनियरलाई कम्तीमा अधिकृत तहको तलब उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले हरेक एक जना सिनियर इन्जिनियरले दुई जना इन्जिनियरलाई सहयोगको रुपमा राख्दा एक हजारलाई रोजगार दिन सकिने तर्क गर्नुभयो । अध्यक्षका प्रत्यासी डा लामिछानेको समूह विभिन्न ३३ बुँदे एजेण्डासहित निर्वाचनमा होमिएका छन् ।









































